मिटरब्याज र लघुवित्त शोषणविरुद्ध संयुक्त जनअधिकार आन्दोलनको घोषणा

नेपालका किसान, मजदुर, श्रमिक, साना उद्यमी र वित्तीय शोषणविरुद्ध लामो समयदेखि संघर्षरत दुई प्रमुख आन्दोलनहरू मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपालबीच ऐतिहासिक एकता सम्पन्न भएको छ। दुबै आन्दोलन र तिनका भगिनी संगठनहरूले साझा दृष्टिकोण, समान लक्ष्य र संयुक्त संघर्षको मार्गमा अघि बढ्ने निर्णय गर्दै संयुक्त जनअधिकार आन्दोलन, नेपाल नामक नयाँ संगठनको घोषणा गरेका छन्।

घोषणापत्रमा भनिएको छ कि वर्षौंदेखि देशका श्रमिक, किसान र साना उद्यमीहरू मिटरब्याज, लघुवित्त र वित्तीय संस्थाहरूको नाममा चलाइँदै आएको योजनाबद्ध शोषण, अन्याय र उत्पीडनको चक्रमा फसिरहेका छन्। राज्यका तर्फबाट पटक–पटक प्रतिवद्धता जनाइए पनि ती व्यवहारमा रूपान्तरण हुन नसकेको वास्तविकताप्रति दुःख प्रकट गरिएको छ। यही पृष्ठभूमिमा संघर्षरत संगठनहरूले जनताको आर्थिक मुक्ति र सामाजिक न्यायका लागि एकीकृत र सशक्त आन्दोलन आवश्यक ठानेका हुन्।
संयुक्त जनअधिकार आन्दोलनको घोषणा पत्रले वित्तीय प्रणालीमा विद्यमान शोषणकारी नीतिहरू, लघुवित्त संस्थाहरूको अत्यधिक ब्याजदर, किसान–मजदुरमाथिको असमान व्यवहार, चरम भ्रष्टाचार र राष्ट्रिय स्वाधिनतामाथि परेका संकटविरुद्ध संगठित रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएको छ। साथै, देशभरका पीडित किसान, मजदुर, सहकारी सदस्य र ऋणीहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गरी संगठन सुदृढीकरण गर्ने तयारी भएको पनि उल्लेख गरिएको छ। घोषणाको अवसरमा मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए।

एकता दस्तावेजमा आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा मोर्चा सधैं समर्पित रहने र सहीद परिवारप्रति उत्तरदायित्वका साथ उभिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ। संयुक्त आन्दोलनले आफ्नो मुख्य नारा “राष्ट्रिय स्वाधिनता, स्थायीत्व र सामाजिक न्याय सुनिश्चित गरौँ, आर्थिक क्रान्तिका लागि एकजुट होऔँ” तय गरेको छ। यही नाराको भावनामा एकता सुदृढ पार्दै आगामी दिनमा साझा नीति, साझा कार्ययोजना र साझा संघर्षमार्ग अवलम्बन गरिने उल्लेख गरिएको छ।
घोषणापत्रमा भनिएको छ, “यो एकता कुनै औपचारिक सम्झौता मात्र होइन, यो जनताको हक, अधिकार र स्वाभिमानका लागि उभिएको साझा अभियानको प्रारम्भ हो।” संयुक्त जनअधिकार आन्दोलनले अबदेखि आर्थिक अन्यायविरुद्धको लडाइँलाई योजनाबद्ध, संयोजित र देशव्यापी बनाउने तयारी गरेको जनाएको छ। दुवै संगठनका अध्यक्षहरूले पत्रकारहरूसँग कुरा गर्दै भने, “हाम्रो एकता जनताको आवाजलाई सशक्त बनाउन र वित्तीय शोषणको जरो उखेल्नको लागि हो। यो आन्दोलन अब केवल केही समूहको होइन, यो सम्पूर्ण पीडित वर्गको साझा अभियान हो।”

यस ऐतिहासिक एकताले देशभर चलिरहेका मिटरब्याज र लघुवित्तविरुद्धका जनसंघर्षलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ। मोर्चाले निकट भविष्यमा व्यापक जनसंवाद, गाउँगाउँमा संगठन विस्तार र राष्ट्रिय अभियानको तयारी सुरु गर्ने जनाएको छ।