Home » के हो द्वन्द्ववाद र किन यो युवाहरूका लागि जरुरी छ?

के हो द्वन्द्ववाद र किन यो युवाहरूका लागि जरुरी छ?

0
के हो द्वन्द्ववाद र किन यो युवाहरूका लागि जरुरी छ?
विशेष विचार / दर्शन

कुनै क्याफेमा कफीको चुस्की लिइरहँदा हाेस् वा सामाजिक सञ्जालमा स्क्रोल गर्दा, हाम्राे बाहिरी संसारमा हाेस् वा हाम्राे अन्तर्मनमा हामी सधैँ यो संसारकाे अस्थिरता महसुस गरिरहेका हुन्छाैँ। यहाँ रहेका हरेकथोक यति चाँडो बदलिइरहेका हुन्छन् कि हिजो चलिरहेकाे एउटा ट्रेन्ड आज पुरानाे भइसकेको हुन्छ। तर यो निरन्तर परिवर्तनको पछाडि कुन अदृश्य शक्तिले काम गरिरहेको छ भनेर हामीले कहिल्यै सोचेका छौँ? यसलाई बुझ्न कुनै ठुलो र जटिल दर्शनको किताब पल्टाइरहनु पर्दैन। हाम्रा पुराना पुस्तकहरू र समाजशास्त्रीय चिन्तनमा यसलाई बुझाउने एउटा निकै व्यावहारिक अवधारणा छ जसलाई द्वन्द्ववाद भनिन्छ। सुन्दा अलि गाह्रो र राजनीतिक जार्गन जस्तो लागे पनि द्वन्द्ववाद वास्तवमा हाम्रो दैनिक जीवन, समाज र यो ब्रह्माण्ड चल्ने नियम हो।

सरल शब्दमा भन्दा ब्रह्माण्ड र मानव जीवनका हरेक कुरा दुईवटा परस्पर विरोधी तत्त्वहरूको टक्करबाट बनेका छन्। यी दुई विपरीत शक्तिहरू एकातिर सँगै रहन्छन् भने अर्कोतिर यिनीहरूबीच निरन्तर संघर्ष चलिरहन्छ। यही टक्करको कारणले गर्दा नै संसारमा नयाँ कुराको जन्म हुन्छ र परिवर्तन आउँछ। प्रकृतिमा गणितको धनात्मक र ऋणात्मक सङ्ख्या, विज्ञानमा परमाणुभित्रका पोजिटिभ र नेगेटिभ चार्ज अनि प्रकृतिमा दिन र रात मिलेर मात्र संसार चलिरहेको हुन्छ। ग्रीक दार्शनिक हेरक्लाइटसले एउटै नदीको पानीमा दुई पटक नुहाउन सकिँदैन भन्दै यसै कुरालाई पुष्टि गरेका छन्। हिजो जुन खोलामा नुहाइयो आज त्यहाँ नयाँ पानी र फरक खनिज तत्त्वहरू आइसकेका हुन्छन्। यसको अर्थ प्रकृति र यसका वस्तुहरू कहिल्यै पनि गतिहीन हुँदैनन् र आफ्नै नियममा निरन्तर बदलिरहन्छन्।

जहाँ पुँजीपति वर्ग हुन्छ त्यहाँ मजदुर वर्ग हुन्छ र जहाँ शासक हुन्छ त्यहाँ शासित वर्ग हुन्छ। यी दुई विपरीत शक्तिहरूबीचकाे आन्तरिक अन्तरविरोधले नै समाजलाई अगाडि बढाउने गर्छ।

हामी अक्सर राजनीतिक व्यवस्था खराब भयो वा समाजमा किन सधैँ विवाद मात्र भइरहन्छ भनेर गुनासो गर्छौँ। वा त्यस्ता गुनासाहरू अक्सर पढ्ने सुन्ने गर्छाैँ। द्वन्द्ववादले समाजमा हुने यस्ता विवाद वा संघर्षलाई स्वाभाविक मान्दछ। जहाँ पुँजीपति वर्ग हुन्छ त्यहाँ मजदुर वर्ग हुन्छ र जहाँ शासक हुन्छ त्यहाँ शासित वर्ग हुन्छ। यी दुई विपरीत शक्तिहरूबीचको आन्तरिक अन्तरविरोधले नै समाजलाई अगाडि बढाउने गर्छ। जब व्यवस्थामा रहेको यो द्वन्द्व उत्कर्षमा पुग्छ तब एउटा वर्गमाथि अर्को वर्ग विजयी हुन्छ र राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आउँछ। आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार इतिहासमा भएका यस्तै ठुला वैचारिक र भौतिक द्वन्द्वहरूको उपज हो।

हामी संसारमा सबै कुरा कि त पुरै राम्रो हुनुर्ने कि त पुरै नराम्रो हुनुपर्ने भनेर सोच्ने गर्छौँ। तर द्वन्द्ववादले हामीलाई हरेक वस्तुमा सकारात्मक र नकारात्मक दुवै पक्ष सँगैसँगै जोडिएर आउँछन् भन्ने सिकाउँछ। कुनै पनि कुरा निरपेक्ष रूपमा मात्र राम्रो वा नराम्रो हुँदैन। उदाहरणका लागि आजको डिजिटल प्रविधिलाई नै हेर्न सकिन्छ। एकातिर प्रविधिले हाम्रो जीवन सजिलो बनाएको छ र संसारभरिका सूचना हाम्रा औँलाका कार्यक्षेत्रमा आइपुग्छन्। अर्कोतिर यसैले धनी र गरिबबीचको खाडल बढाएको छ र मानिसहरूलाई मानसिक तनाव र एक्लोपनतर्फ धकेलेको छ। यो प्रविधिभित्रकै आन्तरिक अन्तरविरोध हो र विकासको कोखबाट हुने नयाँ निर्माण पनि यही नियम अन्तर्गत पर्दछ।

यो संसार कुनै अदृश्य ईश्वरीय शक्तिको सनकका भरमा चलेको होइन बरु वस्तुभित्रै विद्यमान अन्तरविरोधका कारण गतिशील भएको हो।

आजको युवा पुस्ता करियरको चिन्ता र समाजको विकृति देख्दा अक्सर भविष्यप्रति निराश र अन्योलमा देखिन्छ। तर द्वन्द्ववादले निराशा होइन बरु गतिशीलता सिकाउँछ। यदि समाजभित्र विपरीत तत्वहरूबीच संघर्ष नहुने हो भने समाज गतिहीन बन्छ। एकै ठाउँमा जमिरहेको पानी दुर्गन्धित हुन्छ तर बगिरहेको पानी सधैँ कञ्चन रहन्छ। समाज र राजनीति पनि त्यस्तै हो। आजको युवा पुस्ताले समाजमा देखिरहेको विसङ्गति विरुद्ध जुन आवाज उठाइरहेको छ त्यो वास्तवमा समाजलाई रूपान्तरण गर्ने द्वन्द्व नै हो। जहाँ ठुला चुनौतीहरू हुन्छन् सफलता र नयाँ सम्भावना पनि त्यहीँ लुकेका हुन्छन्।

करिब १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएदेखि यता प्रकृतिका सारा वस्तुहरू द्वन्द्ववादकै नियमअनुसार स्वचालित छन् र मानव जीवन पनि यसैबाट प्रभावित छ। यो संसार कुनै अदृश्य ईश्वरीय शक्तिको सनकका भरमा चलेको होइन बरु वस्तुभित्रै विद्यमान अन्तरविरोधका कारण गतिशील भएको हो। त्यसैले समाज, राजनीति वा अर्थतन्त्रका घटनाहरूलाई सतही रूपमा मात्र हेरेर प्रतिक्रिया जनाउनु भन्दा घटनाहरूको गहिराइमा पुगेर कुन दुई शक्ति आपसमा टकराइरहेका छन् भनेर बुझ्ने कोसिस गर्नुपर्छ। जब हामी संसारलाई द्वन्द्ववादी चस्माबाट हेर्न थाल्छौँ तब हरेक समस्याभित्र समाधानको नयाँ बाटाे देखिन थाल्दछ।

सिजन
लेखक परिचय

सिजन

सामाजिक, राजनीतिक तथा दार्शनिक विषयहरूमा निरन्तर कलम चलाउने लेखक एवं सामाजिक अभियन्ता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *