न्यायको किनबेच बन्द गर

0
555
Share This Article:

न्यायको किनबेच बन्द गर ⁄

प्रतिलेखन ः अजय कार्की

आदरणीय यस कार्यक्रमका अध्यक्ष ज्यू,
मिटरब्याज आन्दोलनका विभिन्न क्षेत्र र जिम्मेवारीमा रहनुभएका आदरणीय अगुवा साथीहरु । नवलपरासी जिल्लाका यो आन्दोलनका पहलकर्ता आदरणीय रामसुभग मुसहर ज्यू । हाम्रा विभिन्न आन्दोलनमा अगुवाइ गरिरहनु भएका आज रौतहटदेखि नवलपरासीसम्मका आदरणीय अगुवा आमाबुबा दाजुभाई तथा दिदीबहीनीहरुमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु । हो हामी अदालतलाई सम्मानित संस्थाकोे रुपमा बुझ्ने गरेका छौँ । अदालतलाई सम्मानित संस्था बुझ्दै गर्दा यो अदालतको ईतिहासलाई बुझ्नपर्ने हुन्छ । पहिलो अदालतको स्थापना हुँदै गर्दा नेपालको इतिहासमा आधुनिक न्यायप्रणालीको स्थापना गर्दैगर्दा यो न्यायलयलाई स्थापना गर्ने हरिप्रसाद प्रधानको नाम जहिलेपनि सबै अदालत अगाडी गएर मैले स्मरण गर्ने गरेको छु । हरिप्रसाद प्रधान पहिलोचोटि अदालतको प्रमुख हुनुभयो । दुइवटा कार्यकाल अदालतको प्रमुख भएको मान्छे दार्जिलिङ्ग जाँदाखेरि दार्जिलिङ्ग पुग्ने गाडी भाडा र उहाँसँग एउटा झोला बाहेक अरु थिएन । आज अदालत छ । अदालतका एक नम्बर दुइ नम्बर तिन नम्बर न्यायधिशहरु जो हुनुहुन्छ तपाइँहरु नियुक्ति भएकै दिनदेखि भ्रष्टाचारमा चुर्लुम्मै डुब्नु भएको छ । त्यो खबरदारी गर्न हामी यहाँ आएका हौँ ।

हो हरिप्रधानले भन्ने गर्नुहुन्थ्यो, सरकार चुर हो जनता बछेडा हुन् र अदालत भनेको त्यसको माउ हो । म बिहान उहाँका केही उक्तीहरु सम्झदै थिएँ । उहाँले भन्नुभएको थियो, जनता चल्लाका रक्षा गर्नका निमित्त अदालत माउ भएर उभिनुपर्छ । उहाँले त्यो मान्यता आधुनिक अदालत न्यायप्रणालीलाई दिनुभएको थियो । तर आज अदालत माउ होइन चल्ला चोर्ने स्याल जस्तो आज अदालत माउ होइन चल्ला चोर्ने बाज जस्तो भएर आज हरेक किसान र मजदुरको घरघरमा लिलामी पुगेको छ । हामी खबरदारी गर्न आएका छौँ । यो देशको न्याय प्रणालीले आज कसको झोलामा कति पैसा छ त्यसरी न्याय दिने गरेको छ । तपाइँहरुले दिएको न्याय आज विवादित भएको छ । आलोचित भएको छ । त्यो आलोचना बोकेर झण्डा बोकेर आज हामी आएका छौँ । तपाइँहरुले हेक्का राख्नुपर्ने छ । तपाइँहरुले गरेका फैसला अदालतका चार किल्लाभित्र मात्र मान्य हुनुहुँदैन । यो सडकले पनि अनुमोदन गर्नुपर्छ । तपाइँले गरेको न्याय र अन्याय सडकले पनि मान्न पर्ने हुन्छ । नत्र भन्ने हो भने तपाइँहरु पनि जनताबाट अनुमोदित सम्मानित संस्था हो ।

हामीले भन्यौ अदालत सम्मानित संस्था हो । तपाइँहरुलाई हामीले सम्मान दिएको भनेको हरि प्रधानहरुको निष्ठालाई सम्मान दिएको हो । तर आज यो अदालत चोलेन्द्रहरुलाई जन्माउने यो अदालत यो अदालतले जनताको न्याय गर्न सक्दैन । यो अदालतले हामीलाई न्याय दिन सक्दैन । हामीले भनेका छौँ सबै किसान र मजदुरको घरघरमा आज फर्जि कागजका आधारमा तपाइँहरुले फैसला गर्नुभएको छ । सम्पत्ती खोस्नुभएको छ । बाध्यकारी चेकहरुका कारणले प्रहरी पठाएर घरबाट धरपकड सुरु भएको छ । तपाइँहरुको विवेकले आज एक लाखको लेनदेन हो कि एक करोडको लेनदेन हो भनेर तपाइँहरुले छुट्याउन सक्नुहुन्न । त्रुटी भयो श्रीमान त्रुटी भयो । न्याय प्रणालीमा त्रुटी भयो ।

हामी यहाँमात्र आएका छैनौँ । यसैगरी सर्वोच्च अदालत घेर्न जानेवाला छौँ । आज यो अदालत अगाडी छौँ । श्रीमानहरुलाई तपाइँहरु श्री पाँच होइन तपाइाँहरु श्रीमान हो । तपाइँहरु श्रीपाँच होइन तपाइँहरुले जनतालाई सम्मान गर्नपर्ने हुन्छ । आज अदालत भित्र तपाइँहरुले जुन कागजी फैसला दिनु हुँदैछ सामाजिक न्यायमा तपाइँहरुले प्रतिवादी दिनुभएको छ । तपाइँहरुले दिएको न्यायले आज देख्नुभएको छ मान्छेहरु झुण्डिएका छन् तपाइँहरुको फैसलाले । मान्छेहरुको घरमा भागाभाग छ । तपाइँहरुले फर्जि कागज र सही कागज छुट्याउन सक्नुहुन्न । तपाइँहरुको न्याय प्रणाली फेल भयो । यो देशमा अदालतको पुनर्सरचनाको वहस सुरु होस् । यहीँबाट आज हामी भन्न चाहन्छौँ । किसान र मजदुरलाई साँचि राखेर भन्न चाहन्छौँ । हामी यो आन्दोलन एक दिन जुलुस गरेर एक दिन नारा जुलुस गरेर जाने आन्दोलन होइन । यो देशमा लोकतन्त्र ल्याउनेहरुको आन्दोलन हो । यो देशमा गणतन्त्र ल्याउने जनताको आन्दोलन हो । यो देशमा हामीले झण्डा बोकेर लोकतन्त्र गणतन्त्र ल्याएका छौँ । तपाइँहरु धेरै टाढा होइन व्यवस्थापिका न्यायपालिका यहि जनताबाट अनुमोदन हुनुपर्छ । त्यसो भएको कारणले तपाइँहरुले दिएको न्याय विवादित छ ।

तपाइँहरुले जनतामाथि ज्यादति गर्नुभएको छ । श्रीमान तपाइँहरुका आँखा खोलिनपर्छ । आज हामीले देखेका छाँै । हरि प्रधानको निष्ठा भन्यौँ । हरि प्रधानको निष्ठालाई दोहोर्यायौँ । दुईचोटि न्यायलयको प्रमुख भएको मान्छे दार्जिलिङ्ग जाँदा गाडी भाडा थिएन आज जिल्ला अदालतको न्यायधिश भएको मान्छे करोड करोड सम्पत्ती कसरी जोड्छ ? तपाइँहरुले त्यो ख्याल गर्न पर्दैन ? तपाइँहरु कहाँ आएका कागजहरुको सुद्धिकरण तपाइँहरुले गर्नु पर्दैन ? जनताप्रति उत्तरदायी हुन पर्दैन ? घर घरमा लिलामीका कागज लिएर तपाइँहरुले के गर्नु भएको छ ? एक दिन तपाइँहरुले हामीलाई गोलि ठोक्नु होला । तपाइँहरुसँग प्रशासन छ । हामी भन्न चाहन्छौँ जन विरोधी अदालतको मानहानी गर्न चाहन्छाँै । हामी जन विरोधि अदालत भित्रको फैसलाहरुको मानहानी गर्न चाहन्छाँै । हामीलाई हतकडी लगाउनुस् श्रीमान तर जनताको घर भित्र तपाइँहरुले लिलमीको कागज पठाउन हुँदैन । यो हाम्रो प्रतिवद्धता हो । यो प्रतिवद्धता हामीले दोहोर्याइ राखेका छौँ ।

म भन्न चाहन्छु तपाइँहरुलाई, अब हामी देशैभरि एउटा अभियान पनि चलाउँछौँ । यो देशको न्यायलयमा जोडिएका सबै भ्रष्ट मान्छेहरुका सम्पत्ती सुद्धिकरणको अभियान पनि अब हामी चलाउनेवाला छौँ । उस्तै हुनेवाला छैन । एक लाखको लेनदेनमा पच्चिस लाखको कागज हालेर फैसला गर्ने यो अदालतले जनताको न्याय दिन सक्दैन भन्ने हामीले निष्कर्ष निकालेका छौँ । हो आजैदेखि तपाइँहरु सच्चिनु भयो भने यो निष्कर्ष गलत रहेछ भनेर फेरी हामी यो अदालतलाई सम्मान गर्नेवाला नै छौँ । तर जनताको घर घरमा ज्यादति निरन्तर भइरह्यो भने लेनदेन छैन जनताको घरमा पक्राउ पुर्जी गएको छ । बाध्यकारी घाँटि च्यापेर लिएको चेकमा पच्चिसौँ लाख पैसा हालेर फैसला गर्दिएको छ ।

तपाइँहरुको यो अदालतको साइनबोर्ड माफियाहरुको आज माफियाहरुको पक्षमा काम गरिराखेको छ । माफियाहरुलाई हक हस्तान्तरण गर्दिने साइन बोर्ड बनेको छ । माफियाहरुको विरुद्धको यो अभियानमा हामी छाँै । त्यसकारण म फेरी पनि लामो नगरी भन्न चाहन्छु । अदालत जनताप्रति उत्तरदायी हुनपर्छ । जनतालाई न्याय दिनुपर्छ । तपाइँहरुले दिएको न्याय तपाइँहरुले जुन कोठामा इजलासभित्र मात्रै तपाइँहरुको अदालतको चार किल्ला भित्र मात्रै त्यो न्याय स्थापित गर्न चाहनु हुन्छ भने यो गम्भिर भूल हुनेवाला छ । हामी मान्नेवाला छैनौँ । हामी वहिष्कार गर्न चाहन्छाँै । र हामी भन्न चाहन्छाँै, एकलौटि फैसला सबै खारेज गरियोस् । लेनदेनको विषय श्रीमानहरुको विवेक शून्य मस्तिष्कमा होइन विवेक सहित हुनपर्यो । तपाइँहरुको कालोकोटले हामीले देखेका छाँैँ तराजु सहितको आँखामा पट्टी बाँधेको चिन्ह जुन थियो आज तपाइँहरुले सारा यो अदालतको विवेक माफियाहरुको झोलामा राख्नु भएको छ । त्यो झोला तपाइँहरुले जोख्दा हुन्छ कि तपाइँहरुले न्यायको किनबेच गरिराख्नु भएको छ । न्यायको किनबेच बन्द गर भन्ने नारा सहित आज हामी यहाँ उभिएका छौँ । र म भन्न चाहन्छु, यो सम्मानित संस्था आज विवादित छ । आज यो सम्मानित संस्थाले जनताको पक्षमा काम गरेको छैन । माफियाको पक्षमा काम गरेको छ । माफिया र जन विरोधि हर्कत सच्चिन म फेरि पनि अपिल गर्दै मेरो मन्तव्य यहीँ अन्त्य गर्छु । अभिवादन ।

केन्द्रीय प्रवक्ता
निर्ग नविन

Leave a Reply

Your email address will not be published. Required fields are marked *